आन्दोलनकारीको तोडफोडबाट गुज्रिएको चन्द्रागिरी हिल्सको विज्ञप्ति, 'विचलित छैनौँ अझ दृढ हुनेछौँ'

२०८२ भदौ २८ गते

आन्दोलनकारीको तोडफोडबाट गुज्रिएको चन्द्रागिरी हिल्सको विज्ञप्ति, 'विचलित छैनौँ अझ दृढ हुनेछौँ'

काठमाडौँ । भदौ २४ गते जेनजीको पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आकमणको शिकार भएको चन्द्रागिरी हिल्स्ले सेवा सुचारु गर्न दृढ रहेको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै चन्द्रागिरी हिल्स्ले आन्दोनकारीले केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुर्याएपनि संस्थाले सेवाग्राही तथा पर्यटकको असुविधालाई ध्यानमा राखेर सेवा सुचारु गर्ने अठोट लिएको जनाएको छ । साथै कम्पनीले भदौ २३ गते सोमबार यता जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परि जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । 

 

Advertisement:

Ad
Ad

कम्पनीले भनेको छ,'जेन-जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति हाम्रो सम्मान र साझा उद्देश्य रहेको छ ।  तथापि, सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको छ।'

 

कम्पनीले चन्द्रागिरि केबलकार एकल लगानी भएको संस्था नभई पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको संस्था भएको समेत ध्यानाकर्षण गराएको छ। 


चन्द्रागिरी हिल्स्ले सर्वसाधारणले देखाएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेको जनाएको छ । 'हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौँ । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षा सहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौ,'कम्पनीले विज्ञप्तिमा उलेख गरेको छ । साथै कठिन परिस्थितीमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।