२०८३ वैशाख १४ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा नेतृत्व परिवर्तन गरिएको छ। सञ्चालक समितिको आइतबार बसेको बैठकले कञ्चन सापकोटालाई ‘कायम मुकायम’ प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
यससँगै, प्रवीण पन्दाकलाई जिम्मेवारीबाट मुक्त गर्ने नेप्सेको निर्णय पनि सीडीएससीले औपचारिक रूपमा कार्यान्वयन गरेको छ। पन्दाक पदमुक्त भएसँगै सापकोटाले संस्थाको कार्यकारी नेतृत्व सम्हाल्ने भएकी छन्। उनी यसअघि सीडीएससीको प्रशासन तथा मानव संसाधन विभाग प्रमुखका रूपमा कार्यरत थिइन्।
पन्दाकलाई तत्कालीन नेप्से प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्यकालको अन्त्यतिर, २०८१ पुस १४ गते, चार वर्षका लागि प्रबन्ध सञ्चालक नियुक्त गरेका थिए। तर, खुला प्रतिस्पर्धाविना गरिएको उक्त नियुक्तिलाई नीतिगत रूपमा प्रश्न उठाउँदै वर्तमान नेतृत्वले पुनरावलोकन गरेको थियो।
नियमसम्मत प्रक्रिया नअपनाइएको ठहर गर्दै नेप्से सञ्चालक समितिले केही दिनअघि पन्दाकलाई पदमुक्त गर्दै पुनः नेप्सेमै फर्काउने निर्णय गरेको थियो। सो निर्णयलाई सीडीएससीले अनुमोदन गरेसँगै उनी अब आफ्नो पुरानै जिम्मेवारीमा फर्किने छिन्। यस निर्णयसँगै सीडीएससीमा स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। नयाँ नेतृत्व चयन नहुँदासम्म सापकोटाले संस्थाको दैनिक प्रशासनिक तथा कार्यकारी जिम्मेवारी सम्हाल्नेछिन्।
प्रतिक्रिया