२०८३ असार ०२ गते
काठमाडौँ । बजेट भाषणको पूर्व सन्ध्यामा आयात भएकै कारण ‘सेटिङ’ गरिएको भन्ने आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बिवाईडीका विद्युतीय सवारी साधन छोडेको छ ।
सशस्त्र प्रहरीले जोमसोम र कोरला नाकाबाट आयात गरिएका ति गाडीहरु २ हप्ता अगाडि नियन्त्रणमा लिइएको भएपनि आइतबार बेलुका फुकुवा गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमका अनुसार सरकारद्वारा गठित छानबिन समितिले नियन्त्रणमा लिइरहनु नपर्ने देखिएको भनेपछि गाडी छोडिएका हुन् ।
यसअघि जेठको दोस्रो साता नेपाल भित्रिएका बिवाईडीका ६४९ ईभीको जाँचपास भएको थियो । तर, जाँचपास भइसकेको अवस्थामा पनि आयात प्रक्रियामा कैफियत देखिएको हुन सक्ने आशंका गर्दै नियम विपरित सशस्त्र प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको थियो ।
त्यसपछि यस विषयको अनुसन्धान गर्न अर्थ मन्त्रालयले भुपालराज शाक्यको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेएको थियो । समितिले सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिइएका गाडीहरु राखिएको स्थलमै पुगेर अनुगमन गरेको थियो । समितिले कुनैपनि कैफियत नरहेको प्रारम्भिक निष्कर्ष निकालेपछि गाडी फुकुवा भएका हुन् ।
सशस्त्र प्रहरीका अनुसार ति गाडीहरु आइतबारै जिम्मेवार पक्षलाई जिम्मा लगाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार ति गाडीहरु अहिले सम्बन्धित पक्षले गन्तव्यतर्फ लैजाँदै छन् ।
प्रतिक्रिया