२०८२ फागुन ०८ गते
काठमाडौँ ।आगामी आर्थिक वर्षको बजेटका लागि चालु वर्षको भन्दा कम सीमा निर्धारण गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले करिब १८ खर्ब ९१ अर्ब रुपैयाँको अधिकतम बजेट सीमा तय गरेको हो। चालु आर्थिक वर्षको कुल बजेट १९ खर्ब ६४ अर्ब भए पनि वर्षान्तसम्म करिब १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने सरकारी अनुमान छ।
स्रोतमा दबाब कायम रहनुका साथै अनिवार्य तथा विकाससम्बन्धी दायित्व उच्च भएकाले झन्डै १९ खर्बको हाराहारीमा स्रोत सिलिङ प्रस्ताव गरिएको बताइएको छ। यद्यपि यो प्रारम्भिक अनुमान मात्र भएको र निर्वाचनपछि गठन हुने नयाँ सरकारले आवश्यक परे परिमार्जन गर्न सक्ने अधिकारीहरूले जनाएका छन्। कानुनी व्यवस्था अनुसार बजेटको प्राविधिक तथा आधारभूत तयारी प्रक्रिया अघि बढाइएको छ। फागुन २१ गते हुने निर्वाचनपछि बन्ने सरकारले अन्तिम बजेट प्रस्तुत गर्नेछ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिले तय गरेको सीमाका आधारमा आगामी तीन वर्षका लागि सम्भावित स्रोत र खर्चको सीमा समेटिएको मध्यकालीन खर्च संरचना अर्थमन्त्रीसमक्ष पेश गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार यो प्रस्ताव फागुन ७ भित्र पेश गर्नुपर्ने व्यवस्था छ।
आयोगबाट प्रस्ताव प्राप्त भएपछि अर्थ मन्त्रालयले सोही आधारमा बजेट सीमा र तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरी फागुन १५ भित्र सबै मन्त्रालय र निकायमा पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालय तथा निकायहरूले तोकिएको सीमाभित्र रही नीति तथा कार्यक्रमसहितको बजेट प्रस्ताव तयार गरी बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने प्रक्रिया अघि बढाउनेछन्।
प्रतिक्रिया