२०८२ असोज ०३ गते
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो नोक्शानी ब्यहोरेको भाटभटेनी सुपरस्टोरले कुनै पनि कर्मचारी नहटाउने र उनीहरूलाई तलबसँगै दसैँ भत्ता समेत दिने घोषणा गरेको छ।
देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्। यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध(चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन्।
आन्दोलनबाट निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा पनि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरू पुनः सञ्चालनमा ल्याउने दृढता व्यक्त गरेका छन्। उनले उपत्यकाभित्रका स्टोरहरू चार महिनाभित्र र उपत्यका बाहिरका स्टोरहरू १० महिनाभित्र सञ्चालनमा ल्याइसक्ने बताए।
गुरुङले क्षतविक्षत भएको भाटभटेनीलाई खरानीबाट उठाएर चाँडो भन्दा चाँडो सबै स्टोरहरू खडा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले ऋण गरेर भएपनि आफूसँग जोडिएका कुनै कर्मचारीको रोजीरोटी गुम्न नदिने कुरामा ढुक्क रहन आग्रह गरेका छन् ।
भाटभटेनीमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन्। कम्पनीले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर उनीहरूको रोजगारी सुनिश्चित गर्ने जनाएको छ।
प्रतिक्रिया