२०८३ भदौ २२ गते
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासनपछि बाँकी रहेको शेयर सर्वसाधारणका लागि ल्याउन लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म खुला रहनेछ । सो अवधिमा मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सोलुखुम्बुमा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी पुगेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ ।नेप्सेमा शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको रेञ्जमा तोकिनेछ ।
प्रतिक्रिया