२०८३ वैशाख ०३ गते
काठमाडौँ ।काठमाडौँको त्रिपुरेश्वरमा रहेको बागमती स्विट्सले बिक्री वितरण गरेको खाजाको गुणस्तरलाई लिएर अनेकन् प्रश्न उठिरहेका छन् । यसैबीच बागमती स्विट्सले उपभोक्ताको स्वास्थ्यमा हेलचेक्र्याइँ पुग्ने गरी खाजा बिक्री नगरिएको सामान्य त्रुटिलाई लिएर ठूलो प्रचारबाजी गरिएको प्रष्टिकरण दिएको छ ।
बागमती स्विट्सका सञ्चालक शिवराम खत्रीले ५० वर्षदेखि खाजा बिक्री गर्दै आएको बागमती स्विट्सको भान्सामा पाकेको खाजाको गुणस्तरमा कुनै प्रश्न नउठेको बताउँदै चैत २९ गते बिक्री गरिएको खाजामा बाहिरबाट रेडिमेड किनेर ल्याएको बदाममा अन्जानबस भेटिएको त्रुटीलाई लिएर ठूलो प्रचारबाजी हुँदा व्यवसायमा ठूलो क्षति र धक्का पुगेको गुनासो गरे । उनले भने, 'नखाएको विष लाग्यो,हाम्रो व्यवसायबाट जलन हुनेहरुले पनि मौका पाए । बदाम भित्र के छ थाहा हुने कुरा भएन,हाम्रो भान्सामा पाकेको खानेकुरामा कुनै कैफियत भेटिएको छैन ।'उनले भने ।
खत्रीका अनुसार गत चैत्र २९ गते बनस्पती विभागमा आयोजित एक कार्यक्रममा बागमती स्विट्सबाट करिब २सय प्याकेट खाजा लगिएको थियो । कार्यक्रम सकिएपछि खाजा खाने क्रममा कृषिमन्त्रीको भागको खाजाको बाकसभित्रको सानो बट्टामा राखिएको ड्राइफु्टमध्ये बदाममा चिलेसा भेटिएको थियो । मन्त्रीकै खाजाको बदाममा चिलेसा भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले बागमती स्विट्समा अनुगमन गरी सरसफाई गरी प्रतिवेदन बुझाउन सचेत गराउँदै अर्को सूचना नभएसम्मका लागि खाजा उत्पादन र बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।
ग्राहक तथा उपभोक्तानै आफ्नो अमूल्य सम्पत्ति भएको बताउँदै ५० वर्षको व्यापारको दौरान कहीँ कतैबाट कुनै गुनासो नआएको प्रष्ट पार्दै खत्रीले भने,'यो घटनाले आफूहरु छाँगाबाट खसेजस्तै भएका छौँ ।'उनले भने 'हाम्रो भान्सामा कुनै कैफियत कसैले भेटाउनुहुनेछैन जोकोही आएर हेर्दा हुन्छ, बदामभित्र किरा चेकजाँच गर्ने प्रविधी बनेको त छैन तरपनि प्याकिङ गर्दा सचेत र सजग हुनेछौँ ।'
प्रतिक्रिया