२०८३ जेठ २५ गते
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट दस्तावेजमा रहेका केही त्रुटि तथा प्राविधिक विषयहरू संशोधन गरिएको स्वीकार गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बजेटका मूल नीति, उद्देश्य र प्राथमिकतामा कुनै फेरबदल नगरिएको स्पष्ट पारे।
बजेट सार्वजनिक भइसकेपछि करसम्बन्धी केही व्यवस्था परिवर्तन गरिएको आरोप र त्यसलाई लिएर राजनीतिक विवाद चर्किरहेका बेला अर्थमन्त्रीको यस्तो धारणा सार्वजनिक भएको हो। विभिन्न पक्षबाट बजेटमा करका दर तथा व्यवस्थामा हेरफेर गरिएको दाबी हुँदै आएको छ।
यसै सन्दर्भमा प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी सांसदहरूले पनि विषय उठाउँदै बजेटमा भएको भनिएको कर हेरफेरबारे निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका थिए। उनीहरूले बजेट सार्वजनिक भएपछि केही करसम्बन्धी प्रावधान परिवर्तन गरिएको आरोप लगाउँदै त्यसमा अर्थमन्त्रीको भूमिकामाथि समेत प्रश्न उठाएका छन्।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले केही विषय सच्याइएको स्वीकार गरे पनि त्यसलाई नीतिगत परिवर्तन वा अनधिकृत हस्तक्षेपका रूपमा बुझ्न नहुने बताएका छन्। उनका अनुसार बजेट दस्तावेजमा देखिएका त्रुटि सच्याउने कार्य नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको हो।
बजेटमा करसम्बन्धी व्यवस्थामा भएको भनिएको परिवर्तन, त्यसबाट उत्पन्न राजनीतिक विवाद तथा संसदीय छानबिनको मागका बीच अर्थमन्त्रीको यो अभिव्यक्तिले विषयलाई थप चर्चामा ल्याएको छ।
छ ।
प्रतिक्रिया