अर्थमन्त्रीले पोखे असन्तुष्टि : लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माण चरणमा जानु ‘लाजमर्दो भयो

२०८३ वैशाख ०९ गते

अर्थमन्त्रीले पोखे असन्तुष्टि : लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माण चरणमा जानु ‘लाजमर्दो भयो

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माण चरणमा जानु ‘लाजमर्दो अवस्था’ भएको भन्दै असन्तुष्टि जनाएका छन्।

 

Advertisement:

Ad
Ad

वाग्लेको अध्यक्षतामा बसेको लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उनले यस्तो असन्तुष्टि जनाएका हुन्। विदेशी लगानी स्वीकृत भएर पनि लामो समयसम्म काम अघि नबढ्नु गम्भीर विषय भएको उनले बताए।

 

उनले आयोजनाहरू अघि नबढ्नुमा जिम्मेवार पक्ष पहिचान गर्न निर्देशन दिँदै दोषी जोकोहीलाई छानबिन गरेर आवश्यक परे परिवर्तन गर्नुपर्ने बताए।समस्या के हो भन्ने तत्काल स्पष्ट गर्न र समाधान सहित अगाडि बढ्न उनले जोड दिए।अर्थमन्त्रीले आगामी १४ औँ बैठकसम्म ठोस प्रगति नदेखिए ‘निर्मम समीक्षा’ गरिने बताए।

 

कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने भन्दै लगानी सहजीकरण गर्ने निकाय कमजोर देखिँदा गलत सन्देश गएको पनि उनले उल्लेख गरे।केही ‘फेन्सी आयोजना’ बारे पुनर्विचार गर्नुपर्ने उनले संकेत गरे।

 

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्यसँग जोडिएका आयोजना दयनीय अवस्थामा रहेको टिप्पणी गरे।

 

परियोजना अघि बढाउन बाधक रहेका कारण तुरून्त पहिचान गरी समाधान गर्नुपर्ने भन्दै उनले ‘कुन निकाय, कुन व्यक्ति र किन समन्वय हुन सकेन’ भन्ने विषय अब निगरानीमा राखिने बताए।