२०८२ चैत ३० गते
काठमाडौं । आइतबार प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार शिक्षामन्त्री र अर्थमन्त्री डा स्वर्णिम वाग्ले सम्पत्तिवाल देखिएका छन् । अर्थमन्त्री वाग्लेको सम्पत्ति विवरणमा काठमाडौंको चन्द्रागिरीमा बुवाको नाममा ३ रोपनी जग्गा रहेको सम्पत्ति विवरण उल्लेख गरेका छन् ।
वाग्लेको बुवाको नाममा रहेको चन्द्रागिरीको ३ रोपनी जग्गा उतिबेला २० लाख रुपैयाँमा किनिएको भएपनि आजको मूल्य करिब नौ करोड ६० लाख भन्दा बढी पर्छ । काभ्रेको धुलिखेलस्थित भिल्ला समेतको कूल मूल्य अन्दाजी १९ करोड भन्दा बढि रहेको देखिन आएको छ ।
त्यसैगरी, धुलिखेलको विवादित भिल्ला पनि सम्पत्ति विवरणमा देखाएका छन् । धुलिखेलमा तीन करोड ७५ लाख रुपैयाँमा किनेको अपार्टमेन्ट भनेका छन् । धुलिखेलमा अपार्टमेन्ट नभई भिल्ला हो । धुलिखेलको भिल्ला सबोनका निवर्तमान अध्यक्ष रमेश हमालसँग किनेको वा उनले मिलाई दिएको भन्ने चर्चा यसअघि चलेको थियो ।
अर्थमन्त्री वाग्लेले ४५ तोला सुन रहेको समेत उल्लेख गरेकाछन् । त्यसैगरी, यही फागुन २१ गतेको निर्वाचन अघि फागुन १२ गते ग्लोबल आईएमई बैंकबाट एक करोड पाँच लाख रुपैयाँ ऋण लिएको समेत उल्लेख गरेका छन् ।
ऋण लिएको रकम, र आर्जन गरेको समेत गरी सानिमा बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक समेतमा गरी उनको नाममा एक करोड ९० लाख रुपैयाँ बचत रहेको उल्लेख छ । त्यसैगरी, उनको नाममा सांग्रिला विकास बैंक समेत अपरमादी हाईड्रोमा समेत शेयर रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको विवरणअनुसार उनको कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन् । यसमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्।
सार्वजनिक गरिएको विवरणअनुसार, मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ । यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ । मोरङमा १ कठ्ठा जग्गा पनि उनको नाममा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ उल्लेख छ ।
पारिवारिक सम्पत्तिको रूपमा, उनका बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी छ, जसको मूल्य साढे २ करोड रुपैयाँ जनाइएको छ । आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा र गोकर्णेश्वरमा अर्को डेढ करोडको जग्गा रहेको देखाइएको छ । आमालगायत सम्पूर्ण परिवारको नाममा गोदावरीमै ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
प्रतिक्रिया