२०८३ वैशाख १४ गते
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव गरेको छ। सोमबार पार्टी कार्यालयमा बसेको बैठकमा सभापति गगन थापाले उनको नाम अघि सारेका हुन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाउनेतर्फ नेताहरूबीच सहमति जुट्दै गएको छ। यसअघि सहमति खोज्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो, जसले आन्तरिक छलफललाई अघि बढाएको थियो।
शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूको समर्थन आङ्देम्बेतर्फ देखिएकाले ३८ सदस्यीय संसदीय दलमा उनको पक्षमा बहुमत पुग्ने देखिएको छ।
संसदीय दलको नेता औपचारिक रूपमा चयन गर्न दिउँसो सिंहदरबारस्थित दलको बैठक बोलाइएको छ, जहाँ आङ्देम्बेलाई सर्वसम्मत रूपमा घोषणा गर्ने तयारी छ।
आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् र पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री बनेका थिए। कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलोपटक दलको नेता सर्वसम्मत रूपमा चयन गर्न लागेको हो।
प्रतिक्रिया