आज अक्षय तृतीया, शास्त्रीय विधानअनुसार यस्तो छ आजको दिनको महत्व

२०८३ वैशाख ०७ गते

आज अक्षय तृतीया, शास्त्रीय विधानअनुसार यस्तो छ आजको दिनको महत्व

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।


शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

Advertisement:

Ad
Ad


पञ्चाङ्ग निर्णायक समितिका अनुसार यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यस दिन विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि अति उत्तम हुने विश्वास गरिन्छ ।


यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।