२०८२ असोज २६ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा भेटिएको भन्ने समाचारको पुष्टि गर्न सचिवालयले चुनौति दिएको छ । आइतबार विज्ञप्ति निकाल्दै सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा ‘प्रचण्ड र उनकी छोरी गंगा दाहाललाई लक्षित गरी प्रकाशित÷प्रसारित समाचार तथा सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति खेद प्रकट गर्दै भत्र्सना गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ । त्यसैगरी कुनै पनि संचार माध्यममा समाचार प्रवाह गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको न्यूनतम दायित्व हो । तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ । जुन गम्भीर तथा आपत्तिजनक छ ।
सचिवालयले सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिएको छ । सचिवालयले समाचारप्रति असहमति जनाउँदै डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरेको छ।
प्रतिक्रिया