२०८२ असार १७ गते
काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट नेपाल फर्कीएर उद्यम गर्नेहरुलाई पुरस्कृत गरेको छ । श्रममन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका ७ जनालाई जनही ७५ हजार नगद राशी सहित सम्मानपत्र दिएर पुरस्कृत गरेका हुन् ।
यसरी पुरस्कृत हुनेहरुमा आमा कृषि फर्म, उर्लाबारी, मोरङका राजिव खड्का निम्तो एग्रो फार्म, जितपुर वाराका शंकर सिम्खडा, वैतेश्वर रेण्ट एण्ड क्याटरिङ्ग सर्भिस, वैतेश्वर, दोलखाका कुमार श्रेष्ठ, वसन्त पोल्ट्री फर्म, भानु तनहुँका बसन्त बहादुर खड्का, न्यू सन्ध्या होटल एण्ड रेष्टुरेण्ट र सासु बुहारी कृषि तथा पशुपालन फर्म, अर्घाखाँचीका शौवाखर पौडेल, देउती होजियारी उद्योग एण्ड ट्रेडिङ्ग सेन्टर, विरेन्द्रनगर, सुर्खेतका लक्ष्मी प्रसाद ढकाल र कैलपाल बहुउद्देश्यीय कृषि फर्म, पाटन, वैतडीका तर्क सिंह विष्टले पुरस्कार तथा सम्मानपत्र प्राप्त गरे ।
त्यसैगरी देशभरबाट उत्कृष्ट उद्यमीका रूपमा दमक, झापाका रविन पोख्रेल उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार स्वरूप नगद १ लाख ५० हजारले सम्मानित भएका छन् । पुरस्कृत तथा सम्मान भएका उद्यमीहरूलाई छनौट गर्दा विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ ले तोके बमोजिम रोजगारी सिर्जना पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरे नगरेको, सामाजिक दायित्व वहन गरे नगरेको, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदुषण व्यवस्थापन र उद्यम संचालन गरेको भौगोलिक क्षेत्र गरी जम्मा ७ वटा मूल्याङ्कन सूचकलाई आधार लिइएको थियो ।
प्रतिक्रिया