२०८२ मंसिर ०४ गते
सिमरा। बाराको सिमरा क्षेत्रमा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले दिउँसो १२:४५ देखि साँझ ८ बजेसम्म कर्फ्यू लागू गर्दै सिमरा विमानस्थल, जीतपुर–सिमरा क्षेत्र र राजमार्ग आसपासमा सबै प्रकारका भेला, प्रदर्शन र भीड–भाडमा निषेध लगाएको छ।
बुधबार जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप हुँदै तनाव बढेपछि बिहीबार बिहानै जेनजी कार्यकर्ताहरू पुनः सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन चर्काएका थिए। भीड नियन्त्रणका क्रममा सामान्य बल प्रयोग गरिएको प्रशासनले जनाएको छ।
झडपमा संलग्नलाई पक्राउ नगरेको आरोप लगाउँदै जेनजीले आजको प्रदर्शन सुरु गरेका थिए। उनीहरूले दर्ता गरेको जाहेरीमा परेका मध्ये दुई वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र कैमुदिन अन्सारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। बुधबारको भिडन्तमा ६ जना जेनजी कार्यकर्ता घाइते भएका थिए।
प्रदर्शन र तनावका कारण सिमरा क्षेत्रमा यातायात अवरुद्ध बनेको छ।
प्रतिक्रिया