काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्म यस्तो मुद्रा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ ।
विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको तथा आयात निर्यात घट्दा विदेशी मुद्रा सञ्चितिले रेकर्ड कायम गर्न सकेको हो । ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
नेपाल जस्ता कम विकसित मुलुकमा विदेशी मुद्राले ६ महिनासम्मको आयात धान्न पुग्ने भए सुरक्षित मानिन्छ । यही ६ महिनालाई आधार मान्दा आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ ।
वस्तु तथा सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरी विदेशी मुद्रा बढ्दा त्यसले दीर्घकालसम्म फाइदा पुग्ने भए पनि रेमिट्यान्स बढ्दा विदेशी मुद्रा बढ्नुलाई केन्द्रीय बैंकका अधिकारीहरू दरिलो स्रोत मान्दैनन् । विकसित मुलुकहरूमा भने तीन महिनाको लागि विदेशी मुद्रा मौज्दात भए पर्याप्त हुने आइएमएफ, वल्र्ड बैंक लगायतको मान्यता छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !