काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको रिपोर्ट अनुसार आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ खर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९१० अर्ब ७७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति(संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २,७४,६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,९०,८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,४५,४३२ र १,५७,०४५ रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !