सिरहा । जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण फेला पारेको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलव वापत निकासा लिएर हिनामिना गरिएको रहस्य बाहिर आएको हो ।
प्राविधिक धारतर्फका निमावि स्तरका शिक्षक अन्तराम यादवले मिति २०८१ बैशाख २६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० बैशाख २७ गतेको मितिबाट लागू हुनेगरी तत्कालीन प्रधानाध्यापक भरत साहले स्वीकृत गरिदिए ।विद्युत इन्जिनियर शिक्षक अन्तराम यादवले नेपाल विद्युत प्राधिकरणमा नाम निकालेर शिक्षकबाट राजीनामा दिएका थिए । उनी अहिले प्राधिकरणमा राजविराजमा कार्यरत छन् ।आफैंले राजीनामा स्वीकृत गरी अवकाश दिएका शिक्षक अन्तराम यादवको नामबाट प्रधानाध्यापक भरत साहले तलव निकासा गराई १ लाख ५३ हजार ९ सय २० रुपैयाँ अपचलन गरेको तथ्य बाहिर आएको हो ।
२०८१ बैशाख २७ गते देखि सेवा निवृत्त भइ नेपाल विद्युत प्राधिकरण राजविराजमा जागिर खान गएका शिक्षक यादवको २०८१ आसोज महिनासम्मको तलव, भत्ता र दशैं पेश्की समेत गोलबजार नगरपालिकाबाट निकासा मागिएको नगरपालिका स्रोतले जनाएको छ गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको सहमतिमा तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा, लेखापाल रामेश्वर साह र प्रधानाध्यापक भरत साहको मिलिभगतमा उपरोक्त रकम निकासा भएको स्थानीयले आरोप लगाएका छन् ।नगरपालिकाबाट निकासा लिएर शिक्षक यादवको किर्ते हस्ताक्षर गरी विद्यालयबाट नगदै तलव भुक्तानी लिएको र वाँडफाँड गरी हिनामिना गरेको आशंका गरिएको छ ।
शिक्षक यादवले दिएको राजीनामा पत्र र गोलबजार नगरपालिकाले विद्यालयलाई निकासा दिएको तलवको फाँटवारी नेपाल न्युज बैंकलाई प्राप्त भएको छ । राजीनामा पत्रमा तत्कालीन प्रधानाध्यापक साहले स्वीकृतीको तोक लगाएका छन् ।यस सम्बन्धमा अवकाश लिएका शिक्षकसँग बुझ्दा उनले भने,‘मैले २०८१ बैशाख २६ गतेसम्मको तलव बुझेको छु । आवश्यक परे बैंक स्टेटमेन्ट देखाउन सक्छु । त्यो भन्दा बढी कैफियत भएको रहेछ भने हेडमास्टरलाई सोध्नुस् । उनी नै जिम्मेवार हुनुपर्छ ।’यस सम्बन्धमा तत्कालीन प्रधानाध्यापक साहले शिक्षिका विमला झाको तलवसँगै अन्तराम यादवको पनि तलव निकासा आएको स्वीकार गरे । उनले भने झाको तलवसँगै यादवको तलव रकम पनि फिर्ता गरिएको छ ।
मेयर श्रेष्ठले उपसचिव अनन्त पौडेललाई जिम्मेवारीविहीन गराई उनीभन्दा कनिष्ट शाखा अधिकृत सुवोध लामालाई कमाइ गरेर दिने विश्वास पात्रका रुपमा शिक्षा शाखामा प्रमुख बनाएर राखेको स्थानीयको भनाइ छ ।असाधारण विदामा अष्ट्रेलिया गएकी शिक्षिका विमला झाको तलव निकासा लिएर हिनामिना गरेको घटना गत माघ ११ गते सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि मेयर श्रेष्ठ शिक्षा शाखा प्रमुख लामा, प्रधानाध्यापक साह र लेखापाल साहलाई हटाउन बाध्य भएका थिए ।
उनीहरु तीनै जनालाई नगरपालिकामा जगेडामा राखेर हाजिर गराइएको छ । विमला झा तलव हिनामिना प्रकरणमा मुद्दा चलाउनुको सट्टा लामा, प्रअ साह र लेखापाल साहलाई जोगाउन मेयर श्रेष्ठले कागज पत्र मिलाइ दिएको बताइएको छ ।
पदबाट हटाइएका शिक्षा शाखा प्रमुख लामाले ‘रकम खाने बेला बाँडेर खाने अहिले मलाई मात्र कारवाही गर्ने हो भने म त डुब्छु सँगसँगै सबैलाई लिएर डुब्छु’ भनेर घुर्की लगाएपछि मेयर श्रेष्ठ उनको बचाउमा उत्रिएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !