काठमाडौ । चालु आर्थिक वर्ष (२०८१/०८२) को ८ महिनामा बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा १४१ खर्ब रुपैयाँ निक्षेप राखेका छन् । उनीहरुले २ हजार ६ सय ९१ पटकको कारोबार मार्फत उक्त रकम केन्द्रिय बैंकमा राखेका हुन् । राख्ने र झिक्ने भएकाले बैंकहरुको एसडिएफ ५६ अर्ब ५५ करोड रुपैयाँमात्र बाँकी छ । बाँकी सबै परिपक्क भएकाले बैंकहरुले फिर्ता लगिसकेका छन । ५६ अर्ब ५५ करोड रुपैयाँ भोली परिपक्क हुने भएकाले बैंकहरुले भोली फिर्ता लैजानेछन् ।
स्थायी निक्षेप सुविधा (एडिएफ) अन्र्तगत बैंक तथा वित्तिय संस्थाले केन्द्रिय बैंकमा पैसा राख्दै आएका छन् । लगानी योग्य रकम अत्यधिक भएपछि बैंकहरुले ठुलो परिणामको रकम केन्द्रिय बैंकमा राखेका हुन् । एसडिएफ भनेको मौद्रिक औजार हो । बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गरेवापत ३ प्रतिशत ब्याजदर पाउँछन् । एसडिएफ सुविधा केन्द्रिय बैंकले गत वर्ष (२०८०) फागुन १ गतेबाट शुरु गरेको हो । बैंकहरुले हप्तामा तीन पटक अर्थात प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउनेछन् ।
यता निक्षेप संकलन उपकरणमार्फत पनि बैंकहरुले केन्द्रिय बैंकमा २० खर्ब २८ अर्ब ८० करोड रुपैयाँ राखेका छन् । यो रकममा १ खर्ब ८८ अर्ब परिपक्क हुन बाँकी रहेको छ भने १८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप फिर्ता लगिसकेका छन् । राष्ट्र बैंकले तोकिदिएको मापदण्ड र दिनमा बैंकहरुले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । यसमा राष्ट्र बैंकले तीन प्रतिशत ब्याज पनि दिनुपर्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !