काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटका लागि आज अन्तर्वार्ता हुँदैछ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सर्ट लिस्टमा सूचीकृत भएका ५ जनासँग आज अन्तर्वार्ता लिने भएको हो । दिउँसो ३ बजेदेखि सर्ट लिस्टमा छनोट भएका ५ जनाको सूचीकृत क्रमानुसार लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण हुनेछ । सर्ट लिस्टमा छनोट भएका उम्मेदवारहरुलाई तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै उपस्थित हुन भनिएको छ।
गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले बोर्डको सीइओका लागि आवेदन माग गरेको थियो । जसअनुसार आवेदनहरुको वैधता अध्ययन गरेर ५ जनाको नाम सर्ट लिस्टमा छनोट भएको हो । कार्यालयले आवेदकमध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवलाई सर्ट लिस्टमा छनोट गरेको हो ।
यीमध्ये ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए । काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्वकार्यकारी निर्देशक हुन । भीष्मराज ढुंगाना धितोपत्र बोर्डका पूर्वअध्यक्ष रहिसकेका छन्।
सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई ०७८ असोजमा अध्यक्षबाट बर्खास्त गरेको थियो । सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमा सेयर निष्कासनका लागि अनुमति दिनेक्रममा उनले छोरीका नाममा सेयर लिएर नीतिगत भ्रष्टाचार गरेको पाइएको थियो । उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत हुन्।
सिफारिस समितिको सचिवालयले गत साउन २८ मा सीइओ पदका लागि निवेदन आह्वान गरेको थियो । सीइओ पदका लागि ८ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट ५ जना सर्ट लिस्टमा परेका हुन्। अन्तर्वार्तापछि सचिवालयले सरकारलाई ३ जनाको नाम सिफारिस गर्नेछ भने तीमध्ये १ जना मन्त्रिपरिषदबाट बोर्ड सीइओ नियुक्त हुनेछन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !