काठमाडौ । नेपालले पहिलो पटक देशको सार्वभौम क्रेडिट रेटिङ गरेको छ । फिच क्रेडिट रेटिङ कम्पनीले नेपाललाई बिबि माइनस दिएपछि अर्थमन्त्री विष्णु पौडेलले खुसी साटासाट गर्न पत्रकारलाई अर्थ मन्त्रालयल बोलाएको बताएका छन् । शुक्रबार अर्थमन्त्रालयमा डाकिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने बताए । उनले भने, ‘सबै नेपालीको लागि खुसीको दिन हो । तपाइ हाम्रो लागि पनि खुसीको दिन हो । यही खुसी साटासाट गर्न तपाइहरुलाई बोलाएको हुँ ।’
देशको अर्थतन्त्रको वास्तविक अवस्था रेटिङले देखाएको छ बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘नेपाल लगानीको लागि अनुकुल गन्तव्य हो भन्ने सन्देश विश्वव्यापी रुपमा गएको छ । नेपाल साच्चैनै लगानीको दृष्टिकोणले सुरक्षित स्थान हो ।’ नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस स्कोर पाएको छ। नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ। क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।
मूलत अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलव्धी, सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसुचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ ।मुलुकको सार्वभौम क्रेडिट रेटिङ्ग गर्दा यस्ता पक्षहरुलाई विभिन्न सार्वभौम रेटिङ्ग मोडल र गुणात्मक मापन विधीवाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम डि देखि अधिकतम एएए सम्म रेटिङ्ग प्रदान गर्ने गरिन्छ । एएए ले मुलुकको हाइ क्रेडिट क्षमता रहेको देखाउँदछ भने डि ले डिफल्ट को अवस्थालाई ईंगित गर्दछ ।उक्त प्रक्रिया बमोजिम फिच रेटिङले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसुचकहरु, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !