काठमाडौ । एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले नेपालले शुद्ध पिउने पानी विदेश निर्यात गरेर समृद्ध बन्न सक्ने बताएका छन् । बुधबार कालिका खबरको दशौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमबीच नेता नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका हुन्। अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको औँल्याउँदै दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको उनको भनाई थियो ।
साथै नेता नेपालले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । ‘नेपालमा पर्यटन विकासको विशाल सम्भावना छ त्यसका लागि सहकार्य र अठोट आवश्यक छ’ उनले भने । अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रूपमा विकास गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । ‘नारायणहिटी दरबारलाई सरकारी अरू निकायहरू राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रूपमा विकास गर्न जरुरी भैसकेको छ, त्यस्तै अन्य स्थानमा पनि गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको छ’ उनले भने ।
कालिका खबरका प्रकाशक तथा सम्पादक राजकुमार सिलवालको अध्यक्षतामा पर्यटन बोर्डको हलमा सम्पन्न कालिका खबरको वार्षिकोत्सव कार्यक्रममा स्मारिका विमोचनको साथै १७ जना लेखकहरुलाई लेखकीय सम्मान गरिएको छ ।कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमल सापकोटा, लम्की चुहा नगरपालिकाका मेयर सुशीला शाही र सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !