काठमाडौं । जन्मका आधारमा हुने जैविक गुणलाई यौन भनिन्छ । यौनिकता भनेको मानिसको जीवनको केन्द्रीय पक्ष हो । यौन एउटा प्राकृतिक विशेषता हो भने यौनिकता यौनसँग सम्बन्धित सम्पूर्ण भावको अभिव्यक्ति र जीवनशैली हो । ‘बृहत् यौनिकता शिक्षा’ को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । तथापी जसरी खुला बहस हुन पर्ने हो त्यसरी भने अझै हुन सकेको छैन ।
यसैबीच यौनका बारेमा पूर्ण रुपमा शिक्षा र जानकारी गराउने उद्देश्यका साथ नेपाल मानवीय यौनिकता अध्ययन संस्थानले अनलाइन कोर्सको सुरुवात गरेको छ । विशेषगरी विद्यार्थी तथा आवश्यक सबै क्षेत्रका व्यक्तिलाई अध्ययन गर्न सजिलो हुने भएकाले नेपाल मानव यौनिकता अध्ययन संस्थानले वेबसाइट मार्फत यौन शिक्षासँग सम्वन्धित कोर्स प्रदान गर्न लागेको संस्थानका अध्यक्ष एवं संविधानसभा सदस्य बोधकुमार पोखरेलले बताए ।पोखरेलले सामाजिक परम्परा र पुराना सोचका कारण मानवीय यौनिकताका बारेमा नयाँ पिँडीलाई पनि खुलेर बोल्न असहज भइरहेको अवस्थामा प्रविधीमार्फत दिइने शिक्षाले खुला रुपमा व्यक्तिले ज्ञान पाउने र लाभ लिन सक्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यौन अपरिहार्य भएपनि समाज अझै पुरानो मनोविज्ञानले ग्रसित हुँदा उचित शिक्षाको अभावमा हिंसा, बलात्कार जस्ता जघन्य अपराधले बढावा पाएको बताए । उनले नेपाल मानवीय यौनिकता अध्ययन संस्थानले प्रविधिमार्फत यौन शिक्षा प्रदान गर्ने कामको शुरुवात गरेकोमा प्रसंशा गरे । मानवीय यौन शिक्षासँग हरेक क्षेत्रहरु जोडिएको हुँदा यसलाई गहन रुपले विष्लेषण गर्न जरुरी रहेको उनको भनाई थियो ।
नेपाल मानवीय यौनिकता अध्ययन संस्थानले सार्वजनिक गरेको यो वेबसाइट (http://www.niohs.edu.np)मार्फत अध्ययनकर्ताले यौनसँग सम्वन्धित जिज्ञासा, प्रश्न, लेख,यौन परामर्श सबिस्तार प्राप्त गर्न सक्नेछन् । संस्थानले सोमबारदेखि यौन तथा प्रजनन् सम्वन्धी सातदिने अल्पकालिन तालिम समेत सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक वेबसाइटमा यो साताभरी एक हप्ता निःशुल्क पढ्न सकिने भएपनि दोस्रो हप्ताबाट प्रतिमहिना १सय १ रुपैयाँका दरले शुल्क तिरेर अनलाइन अध्ययन गर्न सकिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !