धनगढी । धनगढी उपमहानगरपालिकाले करिब १० लाखको लागतमा मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ। विद्युत् गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरेर सहयोग गरेको हो।
उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ। नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो।
भूमि सुधार तथा मालपोत कार्यालय धनगढीमा उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन्।
विद्युत सेवा अवरुद्धभयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३÷४ दिनसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो। सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ।
बिहीवार एक समारोह आयोजना गरेर प्राध्यापक डाक्टर हेमराज पन्तले उक्त सोलार पावर उद्घाटन गरे। सो अवसरमा नगर प्रमुख गोपाल हमाल, भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलालीका कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, धनगढी उपमहानगरपालिका डिभिजन इन्जिनियरलगायत मालपोतका कर्मचारी र सेवाग्राहीको उपस्थिति रहेको थियो।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले प्रायः मालपोत कार्यालयबाट सेवाग्राहीको ‘काम भएन बती भएन’ भन्ने गुनासो आइरहने भएकाले सोलार पावर सहयोग गरिएको बताए। उनले उपमहानगरको पहिलो प्राथमिकता नगरवासीको सेवा भएकाले सोलार पावर जडान गरेर सेवा पाउन सहजीकरण गरेको बताए।
मालपोत जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले जनतालाई छिटो छरितो सेवा दिए मात्र जनताको सरकारप्रतिको विश्वास बढ्दै जाने र निरासाबीच आशाको दीप बल्दै जाने कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर हेमराज पन्तले बताए। मालपोत कार्यालयले सोलार पावर जडान भएपछि बत्ती गएको अवस्थामा पनि सेवाग्राहीको काम गर्न सहज हुने जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !