नर्भिकमा मस्तिष्कको धमनी नजिकको दुर्लभ ट्युमरको सफल शल्यक्रिया

२०८३ साउन ०७ गते

नर्भिकमा मस्तिष्कको धमनी नजिकको दुर्लभ ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी ७१ वर्षीया महिलाको सफल शल्यक्रिया गरिएको छ।

 

Advertisement:

Ad
Ad

न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा डा. पुरुषोत्तम बानियाँ, डा. समीर अर्याल तथा एनेस्थेसियोलोजिस्ट डा. सुरेश लामिछानेसहितको चिकित्सक टोलीले असार २५ गते करिब सात घण्टा लामो शल्यक्रियामार्फत ट्युमर निकालेको हो।

 

डा. भण्डारीका अनुसार बिरामीको बायाँ घाँटीमा रहेको ट्युमर मस्तिष्कमा रगत पुर्‍याउने भर्टिब्रल आर्टरी नजिकका नसाबाट उत्पन्न भएको अत्यन्तै दुर्लभ र जटिल प्रकृतिको थियो। ट्युमरका कारण बिरामीमा श्वासप्रश्वासमा समस्या, चक्कर लाग्ने, अचेत हुने, टाउको दुख्ने तथा शरीर झम्झमाउने जस्ता लक्षण देखिएका थिए।

 

बिरामीका परिवारका अनुसार घाँटीमा सानो डल्लो देखिएको २१ वर्ष भइसकेको थियो। यसअघि दुई पटक शल्यक्रियाको तयारी भए पनि जोखिम र अन्य कारणले उपचार हुन सकेको थिएन। थप परीक्षणपछि नर्भिकमा उपचार गराउने निर्णय गरिएको थियो।

 

शल्यक्रियाका क्रममा रक्तस्राव कम गर्न विशेष प्रविधि अपनाइएको र आवश्यक परे मस्तिष्कको रक्तसञ्चार कायम राख्न भर्टिब्रल आर्टरी बाइपास गर्ने तयारीसमेत गरिएको थियो। तर बाइपास गर्नुपर्ने अवस्था नआएको डा. भण्डारीले बताए।

 

शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा रहेको क्रिटिकल केयर टोलीले आईसीयूमा निगरानीमा राखेको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि दुई दिनमै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।