२०८० माघ ११ गते
सहकारी विभागले ठूला सहकारीको अनुसन्धान गर्न नसक्ने भएपछि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
संघअन्तर्गत रहेका ९ वटा सहकारीका बचतकर्ता धेरै भएपछि वित्तीय अनुसन्धान र विश्लेषणका लागि राष्ट्र बैंकलाई लेखेर पठाएको विभागका प्रवक्ता टोलराज उपाध्यायले वाणिज्यपोष्टलाई बताए । उनका अनुसार ५० करोडभन्दा माथि कारोबार हुने सहकारीको अनुसन्धान राष्ट्र बैंकले गर्न पाउने सहकारी ऐनमा व्यवस्था रहेबमोजिम राष्ट्र बैंकलाई पत्राचार गरिएको हो ।
विभागले पशुपति सहकारी, शिवशिखर सहकारी, गौतमश्री सहकारी, लालीगुँरास सहकारी, कान्तिपुर सहकारी, हाम्रो कृषि सहकारी, यमुना आइडल सहकारी लगायतको अनुसन्धान गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । उनीहरूका सदस्यको संख्या र कारोबार रकम धेरै भएपछि त्यसको अनुसन्धान गर्न विभागले नसक्ने भएको हो ।
कतिपय सहकारीको बैंकभन्दा पनि धेरै कारोबार हुने भएकाले विभागलाई अनुसन्धान गर्न अप्ठ्यारो परेको हो । विभागले एक साताअगाडि पत्राचार गरेको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार सहकारी ऐन–२०७४ अनुसार पत्र पठाइएको हो ।
विभागका प्रवक्ता उपाध्यायका अनुसार राष्ट्र बैंकले ५० करोडभन्दा माथिका सहकारीलाई स्वतः नियमन गर्नुपर्ने कानूनी आधार हुँदाहुँदै पनि सो काम नगरेकाले पत्र लेखेको दाबी गरे ।
प्रतिक्रिया