२०८३ साउन २८ गते
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झण्डै पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत ७ चैतमा सिंगापुर उडेका उनी बिहीबार १२.३० मा त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।कांग्रेस संस्थापन इतर पक्षका ठूलो संख्यामा समर्थकहरु जम्मा भएर देउवालाई बाजागाजा र झाँकी सहित स्वागत गरेका छन् ।
सरकारले देउवाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा समर्थकहरुले सुरक्षा घेरा भित्र राखेर उनलाई गाडीबाटै बिदाई गरेका छन् । गाडी भित्रैबाट हात हल्लाउँदै पूर्व सभापति देउवा चुनदेवीस्थित निवास पुगेको उनी निकटस्थ नेताहरुले बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा घाइते बनेपछि उपचारार्थ ७ चैतमा देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।
उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा।आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । संस्थापनइतर समूहका नेताहरू देउवालाई स्वागत गर्न विमानस्थल पुगेका हुन् । देउवालाई स्वागत गर्न नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, मीन विश्वकर्मालगायत नेताहरू विमानस्थल पुगेका थिए ।
देउवा फर्केलगत्तै शुक्रबार इतर समूहले राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे शुरू हुनेछ । राष्ट्रिय भेला पूर्वसभापति देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया