२०८३ साउन २२ गते
काठमाडौं । नेपाल न्युट्रास्युटिकल्स एन्ड कर्मास्युटिकल्स एसोसिएसन (एनएनसीए) ले नेपालमा न्युट्रास्युटिकल्स (आहार पूरक) को बजार वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको रहेको बताउँदै यस क्षेत्रलाई थप व्यवस्थित र स्पष्ट कानुनी ढाँचाभित्र सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
आगामी अधिवेशनको तयारीको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष विप्लब रञ्जितले न्युट्रास्युटिकल्स व्यवसाय स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएको भएकाले यसको सही जानकारी आम जनतासम्म पुर्याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए।
'हाम्रो संस्था व्यवसायीहरूको हकहितका लागि स्थापना भएको हो। हामीले गरिरहेको व्यवसायको उपयोगिता आम नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ,' उनले भने। २०७२ मा दर्ता भएको यो संघ लामो कानुनी संघर्षपछि व्यवस्थित भएर सञ्चालनमा आइरहेको अध्यक्ष रञ्जितको भनाई छ ।
अध्यक्षका अनुसार नेपालमा न्युट्रास्युटिकल्स व्यवसाय २०५० सालदेखि सञ्चालन हुँदै आएको भए पनि लामो समयसम्म यसको नियमन गर्ने स्पष्ट सरकारी निकाय थिएन।सुरुआती चरणमा उत्पादनहरू औषधि व्यवस्था विभागमा दर्ता गर्ने वा खाद्य विभागमा गर्ने भन्ने अन्योल रहेको उनले बताए। अन्ततः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत दर्ता गर्ने व्यवस्था अपनाइएको थियो।
उनका अनुसार व्यवसायीहरूले विगतमा आयात गर्दा करिब ५६ प्रतिशतसम्म राजस्व तिर्दै आएका थिए। तर, २०७२ सालमा औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरिएको र करिब दुई वर्षपछि व्यवसायीहरूको पक्षमा फैसला आएको उनले जानकारी दिए।
हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत न्युट्रास्युटिकल्सका लागि छुट्टै व्यवस्था रहेको तथा सबै उत्पादन प्रयोगशाला परीक्षण (ल्याब टेस्ट)पछि मात्रै बजारमा आउने उनले बताए।
भारतबाट बढी आयात
एसोसिएसनका अनुसार नेपालमा न्युट्रास्युटिकल्स बजारको वार्षिक कारोबार १ अर्ब रुपैयाँभन्दा बढी छ।नेपालमा बिक्री हुने अधिकांश न्युट्रास्युटिकल्स भारतबाट आयात हुने गरेका छन् भने अस्ट्रेलिया, अमेरिका तथा युरोपेली मुलुकहरूबाट पनि विभिन्न ब्रान्डका उत्पादन नेपाल भित्रिने गरेका छन्।
चिकित्सकको सिफारिसमा विवाद
एन्टिबायोटिक वा अन्य औषधिको प्रयोगपछि शरीरलाई आवश्यक पोषण दिन आहार पूरकको आवश्यकता पर्न सक्छ। त्यसैले न्युट्रास्युटिकल्सलाई औषधिको विकल्प नभई फुड सप्लिमेन्ट (आहार पूरक)का रूपमा बुझ्न रञ्जितले आम उपभोक्ता तथा खरिदकताएलाई आग्रह गरेका छन् ।
न्युट्रास्युटिकल्स व्यवसायलाई औषधि व्यवस्था विभागले नियमन गर्ने विषयमा आफूहरूको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै नियमन स्पष्ट, वैज्ञानिक र व्यवसायमैत्री हुनुपर्नेमा जोड दिए।
'हामीलाई कुनै निकायले नियमन गर्छ भन्ने होइन, व्यवस्थित, पारदर्शी र सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो,'उनले भने।
प्रतिक्रिया