२०८२ पुस २२ गते
काठमाडौँ। करिब दुई वर्षअघि उत्पादन सुरु गरेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको छ। मङ्सिर अन्तिम सातादेखि बन्द रहेको आयोजना पावरहाउससहित संरचनामा देखिएका प्राविधिक समस्या समाधान भएपछि सञ्चालनमा आएको हो।
आयोजनाका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमका अनुसार केही उपकरणमा समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिने नियमित मर्मतसम्भारको कामसमेत एकैसाथ सम्पन्न गरिएको थियो। त्यसपछि विद्युत् उत्पादन पुनः सुरु गरिएको उनले बताए।
यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिँदै आएको छ। हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सानिमा मिडल तमोर जिल्लाकै सबैभन्दा ठूलो क्षमताको आयोजना हो।
उत्पादन पुनः सञ्चालनमा आएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा आपूर्ति हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया