२०८१ कात्तिक ०२ गते
काठमाडौँ । बैशाखयता ६ महिनामै ३५ हजारले सुन तालामै बढेको छ । यही अनुपातमा बढ्दै गए सुन छिट्टै नै २ लाख प्रतितोला पुग्न सक्ने सुनचाँदी व्यवसायीहरुले प्रक्षेपण गरेका छन् । नेपाली बजारमा बैशाख लागे यता हरेक दिनजसो सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बैशाख अन्तिम सातायता हिसाब गर्दा सुनको मूल्य तोलामै ३५ हजारले बढिसकेको छ । दशैं पछिको यो साता सुनको मुल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गरेको छ । विगत केही समय देखि उचाईतर्फ लागेको मुल्यले गत बुधबार, बिहिबार र पछिल्लो कारोकार भएको दिन शुक्रबार तीनै दिन एक पछि अर्को गर्दै नयाँ उचाई कायम गरेको हो । शुक्रबार सुन प्रति तोला १लाख ६४ हजार ४सयमा कारोबार भयो ।
किन बढिरहेछ मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको बिश्लेषकहरुको भनाई छ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा लिएपछि शुक्रबार सुनको मूल्य प्रति औँस दुई हजार सात सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्य पूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको बताइएको छ । अर्कोतिर डलरको अवस्था कमजोर बन्न पुग्दा पनि सुन मूल्यबान बनेको हो ।
केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ । प्रारम्भिक एसियाली व्यापारमा सुन शुक्रबार हालसम्मकै उच्च बिन्दु २७०४.८९ अमेरिकी डलर पुगेको छ । बिहीबारको रेकर्ड अनुसार भने सुनको मूल्य प्रति औँस दुई हजार ६८८.८३ डलर कायम भएको थियो । इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।
कतिसम्म पुग्न सक्छ ?
नेपाली बजारमा सुनको मूल्य छिट्टै नै २ लाख प्रतितोला पुग्न सक्ने नेपाली व्यवसायीहरुले अनुमान गरेका छन् । सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष तेजरत्न शाक्य यही दरमा बढ्दै जाँदा सुन छिट्टै नै २ लाख पुग्न समय नलाग्ने बताउँछन् । शाक्य भन्छन्- "२७ सय डलर पुग्न केही समय लागेको थियो अहिले पुग्यो, अन्तर्राष्ट्रिय द्वन्द मत्थर हुने छाँट छैन । फेडरल रिजर्भले ५० युनिटले ब्याजदर घटाएको छ । त्यसो हुँदा सुनमै लगानीकर्ताहरुले लगानी सुरक्षित हुने ठानेर लगानी बढाउँदा डिमाण्ड बढ्न पुग्यो र सुन अत्यन्त मूल्यबान बन्न पुग्यो।"
घट्दै सुनको ब्यापार
सुनको मूल्य अत्याधिक बढेपछि सुनको बिक्रि घटेको बताउँछन् सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष तेजरत्न शाक्य । उनी भन्छन् -"यतिखेर सुनको ब्यापार निराशाजनक छ । सामान्य मानिसको पहुँच भन्दा धेरै माथि पुग्यो सुन । सुन बढी खपत हुने भनेको विवाह ब्रतवन्धमा हो, तर सुन महंगिदा कतिले सुन रहित विवाहको प्रचलन ल्याउन थालेका छन् ।" उनका अनुसार गत वर्षसम्म ४० केजी सुन दैनिक बिक्री हुन्थ्यो, तर अहिले सुन दैनिक २० केजी बिक्री हुन पनि मुश्किल रहेको शाक्य बताउँछन् ।
प्रतिक्रिया