आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

२०८३ भदौ १९ गते

आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।

 

Advertisement:

Ad
Ad

उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन् । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी बाढी प्रभावित क्षेत्रको मैदानमै उत्रिएर काम गरिरहेका हुन् ।उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।

 

सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हवाई मार्ग (हेलिकप्टर) मार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धार गरिएका व्यक्तिहरुलाई स्ट्रेचरमै राखेर अक्सिजन दिंदै गर्दा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर हिडिरहेको अवस्थामा देखिएका हुन् ।

 

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको विवरण प्राप्त भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

 

गृहमन्त्री गुरुङले कार्यक्षेत्रमै रहेर उद्धार टोलीलाई आवश्यक स्रोत–साधन परिचालन र निर्देशन दिँदै खोज कार्यलाई तीव्र बनाउन सहजीकरण गरिरहेका छन् । तर फिल्डमै खटेर स्टन्ट गरेको, सामाजिक संजालमा लोकप्रियता कमाउन खोजेको र व्यवस्थापन एवम समन्वयमा काम नगरेको भनेर गृहमन्त्रीको आलोचना भइरहेको छ ।