२०८१ असार २६ गते
काठमाडौं । अपराधको अनेक श्रृंखला सार्वजनिक हुन थालेका छन् । यस्तै घटना सार्वजनिक हुन पुगेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामाको दम्पती नेपालबाट महिला श्रमिक पठाउने नाउँमा मानव बेचबिखनमा लागेको पाइएको छ ।
अनुसन्धानका क्रममा लामाले वैदेशिक रोजगारीका लागि भन्दै नेपालबाट महिला खाडी मुलुक कतार पठाउने र कतारमा उनको श्रीमतीले सम्झौताविपरीत काममा लगाउने गरेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ङेमाले आफ्नै श्रीमती पनि कुवेतमै रहेको राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुने भन्दै प्रलोभनमा पारेर कतारमा महिला पठाउने गरेको थिए ।झुक्याउने क्रममा एक महिलालाई वर्किङ भिसामा क्लिनरको काम भन्दै गत ५ कात्तिक २०८० मा ९५ हजार रुपैयाँ लिएर ङेमाले कतार पठाएको खुलेको प्रहरीले जनाएको छ । कतारकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकको घरमा ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।
त्यसपछि कुवेती नागरिकले बन्धक बनाई घरेलु कामदारको रुपमा राख्ने पारिश्रमिक समेत नदिने र यौन शोषण गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ । ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन् ।
तर, एजेन्ट अफिसले घरबाट आफूखुसी भागेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको थियो । प्रहरीमा उजुरी परेपछि उनी ३ दिन थुनामा बसेर ५७ हजार नेपाली रुपैयाँ तिरेर थुनामुक्त भएकी थिइन् ।
थुनामुक्तपछि दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टबाट उनी २९ माघ २०८० मा नेपाल फर्किएकी थिइन् ।हाल उक्त महिलाको जाहेरीको आधारमा ङेमालाई पक्राउ गरेर मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया