२०८२ वैशाख २८ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले नेपाल राष्ट्र बैंकका भावी गभर्नर पद महत्वपूर्ण र संवेदशील पद भएकाले दलीय उम्मेदवार नउठाउन चेतावनी दिएका छन् । हाल नेपाली कांग्रेसले गभर्नर पदका लागि चितवनबाट २०७९ को निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उठेका उम्मेदवार डा. विश्व पौडेललाई छान्ने चर्चा भएसँगै ढकालले यस्तो चेतावनी दिएका हुन् । ढकालले चुनौतिपूर्ण घडीमा रहेको देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने सक्षम व्यक्ति अहिलेको गभर्नर बन्न पर्नेमा जोड दिएका छन् ।
ढकालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ ९क० अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ। डा.बिश्वनाथ पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । नेपाल सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने ब्यक्तीमा नअल्झिन मेरो सुझाव छ।' उनले लेखेका छन् ।
उनले नेपाललाई जटिल अवस्थाबाट मुक्त गर्न सक्ने योग्य र सक्षम ब्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरियोस् भनेका छन् ।
प्रतिक्रिया