२०८१ साउन १९ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई हराएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । उनले शनिवार साँझ सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको बताएका छन् । ‘काभा महिला भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । बधाई नेपाली टीम,’ उनले फेसबूकमा लेखेका छन् ।
शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा ऐतिहासिक जीत निकाल्ने क्रममा नेपालले भारतलाई ३–२ को सेटले पराजित गरेको थियो ।नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराएको हो ।
यसअघि सन् २०१९ को सागको फाइनलमा नेपाल र भारतबीच दशरथ रंगशालाको कभर्ड हलमै भेट भएको थियो । उक्त खेलमा नेपाल भारतसँग ३–२ ले पराजित बनेसँगै उपाधिबिमुख भएको थियो ।
महिला सिनियर भलिबलमा नेपालले भारतलाई पहिलोपटक हराउन सफल भएको हो ।
प्रतिक्रिया