२०८२ फागुन १८ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेकी छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई देश र जनताको भविष्यको फैसला गर्ने दिन भएकाले सबै काम छोडेर भएपनि मतदान गर्न भनेकी छन् ।
“हामीले हिंसात्मक मोडबाट देशलाई शान्तिपूर्ण निकास दिँदै संविधानको बाटोमा फर्काउन सफल भएका छौँ। अबको निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्नेछ। फागुन २१ गते बिहीबारका दिन सबै काम छोडेर मतदान केन्द्रमा पुग्नुहोला ।”
निर्वाचनको मुखमा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन सामग्री र भ्रामक भविष्यवाणी फैलाउने तत्वहरूलाई सरकारले कडा निगरानीमा राखेको प्रधानमन्त्री कार्कीले बताइन्।
“मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिइने छैन, कानुन हातमा लिने जोसुकैलाई कारबाही गर्न सरकार पछि हट्ने छैन,” उनले भनिन् ।
प्रतिक्रिया