नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला रहने

२०८३ वैशाख ११ गते

नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला रहने

काठमाडौं कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्य जाँच गर्न भ्याउनुभएको छैन ? वा स्वास्थ्य जाँचकै लागि कार्यालयमा बिदा मागिरहनुपर्ने हुन्छ ? 

अन्य दिन कार्यालय जानुपर्ने हुँदा स्वास्थ्य उपचारमा जान फुर्सद नपाउने र शनिबार अस्पतालहरुको सेवा पनि बन्द हुने कारणले धेरैले चाहेर पनि आफ्नो स्वास्थ्य जाँच समयमै गराउन पाउनुभएको छैन होला । कार्यव्यस्तताकै कारण कतिले त स्वास्थ्यमा समस्या नै देखिदा पनि उपचारमा बेवास्ता गरिरहनुभएको छ होला ।

Advertisement:

Ad
Ad

अब यस्तो समस्यामा रहेका व्यक्तिहरुले चिन्ता नलिहोस् । कामकाजी व्यक्तिलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ ।  थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको छ । यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो । 

अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले जानकारी दिए ।  

सिइओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श,  प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला रहनेछन् ।  

यी सेवाहरुमा बैशाखभरका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले जानकारी दिए  ।