२०८२ कात्तिक १९ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधवार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। हाल बजारमा अधिक तरलता कायम रहेकाले बैंकले बोलकबोल प्रणालीमार्फत यो रकम तान्न लागेको हो।
गत हप्तादेखि राष्ट्र बैंकले १७५ दिन अवधिका दीर्घकालीन निक्षेप संकलन गर्न थालेको हो र आजको बोलकबोल पनि त्यही निरन्तरतामा गरिएको हो। यो निक्षेपको सावाँ र ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुनेछ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम सीमा भित्र प्रस्ताव पेश गर्न सक्नेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निर्धारण हुनेछ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता संकुचन गर्दै आएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप करिब ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ, र निक्षेप वृद्धि क्रम अझै जारी छ।
प्रतिक्रिया