निक्षेपको ब्याजदर अन्तिम बिन्दुमा आइसक्यो, अब तल घट्ने ठाउँ छैन तत्काल बढ्ने अवस्था पनि छैन- सीईओ रामचन्द्र खनाल

२०८१ असोज ११ गते

 निक्षेपको ब्याजदर अन्तिम बिन्दुमा आइसक्यो, अब तल घट्ने ठाउँ छैन तत्काल बढ्ने अवस्था पनि छैन- सीईओ रामचन्द्र खनाल

काठमाडौं । देशको अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको छ । त्यसको प्रतिविम्बको रूपमा बैंकिङ क्षेत्र देखिएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूको नाफा बढेको छ । पहिलो त्रैमासिकममा पनि बैंकहरूले नाफा बढाउने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल बताउँछन् । बैंकहरूको पहिलो त्रैमासको नाफा, निक्षेपको ब्याजदरलगायतका विषयलाई समेटेर हामीले खनालसँग संक्षिप्त कुराकानी गरेका छौं ।

 पहिलो त्रैमासको अन्तिम महिना चलिरहेको छ । यो अवधिमा बैंकहरूको अनुमान कस्तो छ ?

Advertisement:

Ad
Ad

अहिले अर्थतन्त्र ठीक हुँदै गएको संकेत देखिएको छ । पहिलो त्रैमास कुमारी बैंकको राम्रो हुनेवाला छ । समग्र बैंकहरूको पनि नाफा पहिलो त्रैमासमा बढ्छ । अहिले रिकभरीको (ऋण उठाउने) स्ट्रेस (तनाव) कम छ । नेपाल राष्ट्र बैंकले प्रोभिजन पनि १. २५ प्रतिशतबाट १. १० प्रतिशतमा झारेको छ । यसले पनि बैंकहरूको ५ अर्ब जति नाफा त स्वतस् बढ्छ । समग्र बैकिङ क्षेत्रको नाफा यो त्रैमासमा बढ्ने देखिन्छ ।

 निक्षेपको ब्याजदर लगातार घटिरहेको छ ,यो भन्दा तल्लो बिन्दुमा जान सक्ने सम्भावना कति छ ?

निक्षेपको ब्याजदर लगभग अन्तिम बिन्दुमा आइपुगेको छ । यो भन्दा तल घट्ने ठाउँ छैन  र बढ्न सक्ने अवस्था पनि छैन । अब ब्याजदर बटम लाइन मा आयो । केही समय  स्थिर रहन्छ । राम्रो ब्याज खाएर निक्षेप राखेकाहरू अब आत्तिन  थालिसके ।

ब्याजदर निकै कम हुँदा पुँजी पलायन हुने खतरा कति देख्नुहुन्छ ?

हो तपाईँले भनेजस्तै पुँजी पलायनको खतरा छ । कम ब्याज पाउने भएपछि बैंकबाट पैसा झिकेर कुन चाहिँ क्षेत्रमा लगेर फसाउँछन वा विदेशिन्छ त्यो चिन्ताको विषय हो । यद्यपि बैंकहरूले तत्काल ब्याजदर धेरै दिन सक्ने अवस्थामा छैन ।

पछिल्लो समय शेयर मार्जिन कर्जा बढेपनि नेप्से घटिरहेको छ । यसले गर्दा बैंकबाट लिएको पैसा कता गयो भन्ने चासो देखिन्छ । के भएको हो यस्तो ?

शेयर मार्जिन कर्जा बढ्नुको कारण ब्रोकरले बेस्सरी उधारोमा ऋण दिए । लगानीकर्ताले ५ लाख हालेर २५ लाखसम्मको शेयर किने । शेयर बजार बढुन्जेल ठीकै थियो । आज किन्नेले भोलि नाफा खाएर बेचे । जब ब्याक गियर लाग्यो त्यसपछि अंक बिग्रियो अर्थात मिलेन अनि पैसा कहाँ गयो भन्ने चासो देखियो ।

बैंकले कर्मचारीहरूलाई ऋणी खोज्न दबाब दिइरहेको पनि सुनिन्छ, कुमारी बैंकको हकमा त्यस्तो दबाब छ कि छैन ?

हामीले (कुमारी)कर्मचारीलाई त्यसरी दबाब दिएका छैनौं । अरु बैंकले दिएको भए थाहा छैन । केही बैंकले २ महिनामै २०/२२ अर्ब बढाएको देख्दा दबाब दिएको त्यहीँबाट स्पष्ट हुन्छ । हामीले पुरानोबाट पाठ सिक्नुपर्छ । अधिक तरलता भएको बेला जथाभावी लगानी गर्‍यौं । त्यही जथाभावी लगानीले गर्दा रिकभरीमा टाउको दुखाउनु परेको छ । राम्रो ग्राहक (ऋणी)आए भनेमात्र ऋण दिनु भनेका छौं । राम्रालाई छोडेर अन्त जान नदेऊ भनेका छौं । हामीले ऋण प्रवाहका लागी कर्मचारीलाई दबाब नदिएकै कारण कुमारी बैंकको ऋण प्रवाह त्यति बढेको पनि छैन । २ महिनामा ३/४ अर्बको मात्र ऋण प्रवाह वृद्धि छ ।

चाडबाडमा ऋणको माग बढी हुनुपर्ने हो तर यो पटक ऋणको माग कस्तो छ ?

हो चाडबाडमा ऋणको माग बढी भएर नै ऋण प्रवाह केही बढेको देखिन्छ । नाडा अटो शोले ऋणको माग बढाउँछ भन्ने थियो तर त्यहाँ पनि बुकिङ धमाधम क्यान्सिल भएको भन्ने सुनेका छौं । एउटैले चार-पाँच वटा सम्म बुकिङ गरे भन्ने पनि सुनिन्छ । तिनैले अहिले क्यान्सिल गरे । यसले सोचेजस्तो ऋणको माग बढाएन । यद्यपि गत महिनाको तुलनामा भने पछिल्लो एक/दुई महिनायता ऋण प्रवाहमा केही बढोत्तरी भएको देखिन्छ ।