जोहरान मम्दानी न्युयोर्कका पहिलो मुस्लिम मेयर

२०८२ कात्तिक १९ गते

जोहरान मम्दानी न्युयोर्कका पहिलो मुस्लिम मेयर

न्युयोर्क। अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ। ३४ वर्षीय जोहरान मम्दानी मेयर निर्वाचित भएका छन्, जससँगै उनी न्युयोर्कका पहिलो मुस्लिम र एक शताब्दीभन्दा बढी समयपछि सबैभन्दा कान्छा मेयर बनेका छन्।

यो जित डेमोक्र्याट पार्टीका लागि ठुलो उपलब्धि बनेको छ, किनभने राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको केही महिनामै भएका यी प्रमुख चुनावहरूमा डेमोक्र्याटहरूले देशभरका धेरै ठाउँमा विजय हासिल गरेका छन्।

Advertisement:

Ad
Ad

मम्दानीले स्वतन्त्र उम्मेदवार एन्ड्र्यु कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई हराउँदै निर्णायक विजय हात पारेका हुन्।

“राजनीतिक अन्धकारको यस समयमा, न्युयोर्क उज्यालो बन्नेछ,” मम्दानीले विजय भाषणमा भने। उनले असमानता अन्त्य, सस्तो आवासको विस्तार र सार्वजनिक पूर्वाधारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघीय स्तरबाट हुने “धम्की र दबाब” को प्रतिरोध गर्ने घोषणा गरे।

यो टिप्पणी सिधै राष्ट्रपति ट्रम्पतर्फ लक्षित थियो, जसले मम्दानी विजयी भएमा न्युयोर्क सहरको संघीय अनुदान कटौती गर्ने धम्की दिएका थिए। परिणाम सार्वजनिक भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जालमा लेखे: “र अब सुरु हुन्छ।”

राजनीतिक विश्लेषक एन्थोनी जर्चर का अनुसार मम्दानीको यो विजय “असाधारण राजनीतिक उपलब्धि” हो, तर वास्तविक चुनौती अब सुरु हुने छ। “उनी कसरी न्युयोर्कका चुनौतीहरू सामना गर्छन् र शत्रुतापूर्ण ह्वाइट हाउससँग सम्बन्ध व्यवस्थापन गर्छन् भन्ने कुरा नजिकबाट हेरिनेछ,” उनले भने।

न्युयोर्क बाहेक, डेमोक्र्याटहरूले भर्जिनिया र न्यु जर्सीमा समेत गभर्नरको चुनाव जितेका छन्। यससँगै क्यालिफोर्नियामा मतदाताहरूले राज्यको संघीय निर्वाचन क्षेत्र पुनःरचना गर्ने प्रस्ताव पारित गरेका छन्, जसले आगामी वर्षका चुनावमा डेमोक्र्याटहरूलाई फाइदा पुर्‍याउने अनुमान गरिएको छ।

इतिहास रचिएको रातपछि मम्दानीले सावधानीपूर्वक आशावादी धुनमा भने, “आज हामीले इतिहास बनायौं। भोलिदेखि हामी सबै न्युयोर्कवासीका लागि काम सुरु गर्छौं।

-बिबिसी