२०८१ जेठ १३ गते
काठमाडौं । मेयर बालेन्द्र शाहको निर्दृेशनमा काठमाडौं महानगरपालिकाले शनिबार सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौंको गेटमा धूलो थुपारिदिएको छ । चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा नागरिकले धूलो र कष्ट ब्यहोर्नुपरेको तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै महानगरले काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धूलो उपहार पठाइदिने घोषणा गरेका हुन् ।
कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारको नाममा वर्षौंदेखि जनताले सास्ती ब्यहोर्नुपरेको उल्लेख गर्दै मेयर शाहको निर्देशनमा सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरू अगाडि लगेर थुपारिदिइएको हो । सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित उनले सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । बालेनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् ।
‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिंगरोड विस्तारका नाममा धेरै धूलो र कष्ट ब्यहोर्नुपरेको छ,’ बालेनले स्टाटसमा भनेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धूलोको हात छ, जसले गर्दा महानगरवासीले धूलोधूवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।’ बालेनले धूलो जनताले मात्र खाँदा राम्रो नदेखिने भन्दै थप लेखेका छन्, ‘जबसम्म चक्रपथ निर्माणको काम अगाडि बढाइँदैन तबसम्म हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउनेछु माया सम्झेर स्वीकार्नु होला ।’
यता सडक डिभिजन काठमाडौंले शनिबार एक विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने उल्लेख गरेको छ । ‘यस्तो गतिविधिको प्रतिकार गर्नसमेत सडक डिभिजन काठमाडौं बाध्य हुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘शनिबार न्युरोड क्षेत्रमा यस कार्यालयको जिम्मामा रहेको सडक बिनाअनुमति काटेर यसको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगर लागेको बखत अनुमतिबिना सडक काटेर साँघुरो बनाउन नहुने भनेर रोक लगाइएको थियो । यो विषयलाई विषयान्तर गरी डिभिजन कार्यालयसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याइ छ ।
त्यसो त चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्ने भनेको एक वर्ष बित्दा पनि चिनियाँ कम्पनीले पूरा गर्न सकेको छैन ।
प्रतिक्रिया