मौद्रिक र वित्त नीतिमा एउटा मौन र अर्को आक्रामक हुँदा परिणाम नकारात्मक आउँछ : अर्थमन्त्री

२०८२ कात्तिक २७ गते

मौद्रिक र वित्त नीतिमा एउटा मौन र अर्को आक्रामक हुँदा परिणाम नकारात्मक आउँछ : अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र चलायमान बनाउँन मौद्रिक र वित्तिय नीतिले आफ्नो -आफ्नो क्षेत्रमा समान हैसियतले काम गर्नुपर्ने बताएका छन् । उनले एउटा नीति मौन र अर्को आक्रामक हुदा त्यसले राम्रो परिणाम नदिने उल्लेख गरे । 

उनले भने, ‘विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने समय थियो । एउटा नीति मौन रहने अर्को अत्यधिक आक्रामक हुन्थ्यो । र जसको परिणामस्वरूप आर्थिक समस्याहरू कम गर्ने उद्देश्यले बनाइएका नीतिहरूको नकारात्मक परिणाम वा नकारात्मक परिणामहरू देखा परेका थिए । यस पटक सामूहिक प्रयासमा काम भएको छ । निजी क्षेत्रले अनुरोध गरेको सबै विषयलाई सम्बोधन गर्ने प्रयास गरेका छौ ।’

Advertisement:

Ad
Ad

विश्व बैंकले  नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले मौद्रिक नीति र वित्तिय नीतिको सन्तुलन कायम राख्नुपर्ने कुरामा जोड दिए । यस्तै खनालले जेनजी आन्दोलन पछि बनेको सरकारले किताबमा मात्र सिमित र काम नभएका आयोजनाको पहिचान गरी उनीहरुको बजेट कटौती गरिएको पनि बताए । उनले भने, 'कुल गार्हस्थ उत्पादनमा योगदान नगर्ने आयोजनालाई हामीले छोडेका छौ । अब सरकारी र नीति संरचनाको पुर्ननिर्माण गर्नुपर्नेछ ।'


“व्यावसायीक विश्वास पुनर्स्थापना गर्न र पुनरुत्थानलाई गति दिन नेपाल सरकारले एकिकृत व्यावसायीक पुनरुत्थान योजना सार्वजनिक गरेको छ जस अन्तर्गत अनुदान, कर छुट तथा सञ्चालन सहयोग लगायतका सुविधाहरूको व्यवस्थापन गरेको छ,”  अर्थमन्त्री खनालले भने।उनी भन्छन्,  “पूर्वाधार पुनर्निमाण र चुनावी तयारीका लागि सार्वजनिक स्रोतहरूलाई प्राथमिकता दिइएको छ । साथै क्षतिग्रस्त सार्वजनिक तथा नीजि सम्पति पुनर्निर्माणका लागि पुनर्निमाण कोष खडा गरिएको छ । यी कदमहरूले बलियो अर्थतन्त्रको जग राख्दै नीजि क्षेत्रको गतिविधिलाई पुनर्स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।”  

पुनरुत्थानका लागि आवश्यक तत्काल गतिविधि बाहेक विश्व बैंकको प्रतिवेदनले  पनि दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक लगानी व्यवस्थापनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिएको छ ।