बालेन सरकार बनेपछि पुँजीबजारका लगानीकर्ताले गुमाए २ खर्ब ७९ अर्ब ३६ करोड बढी

२०८२ चैत २० गते

बालेन सरकार बनेपछि पुँजीबजारका लगानीकर्ताले गुमाए २ खर्ब ७९ अर्ब ३६ करोड बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको एक साता भयो । नयाँ सरकारको नेतृत्वमा (प्रधानमन्त्री) बालेन्द्र शाह छन् ।

करिब दुई तिहाईको नजिक पुगेको दलको सरकार बन्दा पनि सेयर बजारमा कुनै उमंग देखिएन । बरु लगानीकर्ता हतास भएको नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने सेयरको पुँजीकरणले देखाएको छ । यसअघि  बजार घट्दा स्थिर सरकार नभएको, मिलिजिुलीको सरकारको टिकाउमै आशंका भएको भन्दै लगानीकर्ताहरुले बिश्लेषण गर्ने गरेका थिए । तर अहिले परिस्थिती लगानीकर्ताको विश्लेषण अनुसार( स्थिर सरकार)  नै हुँदा पनि पुँजी बजारले लय समात्न सकेन । 

Advertisement:

Ad
Ad

प्रधानमन्त्रीमा बालेन शाहले सपथ लिनु एक दिन अघि बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ थियो । बालेन सहित केही मन्त्रीले सपथ लिएको दिन विदा र भोलिपल्ट शनिबार भएकाले दुई दिन कारोबार भएन । कारोबार खुलेको दिन (चैत १५) नै बजार पुँजीकरणमा ठुलो गिरावट आयो । उक्त दिन ४८ खर्ब ९४ अर्ब रुपैयाँमै सिमित भयो बजार पुँजीकरण । त्यसयता भएको कारोबारलाई आधार मान्ने हो भने बिहिबार (चैत १९) सम्म बजार पुँजीकरण खुम्चिएर ४७ खर्ब ३० अर्बमा झरिसकेको छ । 

 

यस आधारमा पनि बालेन सरकारको इन्ट्रिपछि बजार पुँजीकरण २ खर्ब ७९ अर्ब ३६ करोड रुपैयाँले घटिसकेको देखिन्छ । बजार पुँजीकरण भनेको नेप्सेमा कारोबार हुने सम्पूर्ण कम्पनीको सेयरको मूल्य हो । कम्पनीको पछिल्लो सेयर मूल्यलाई सेयर संख्याले गुणा गर्दा आउने योग नै उक्त कम्पनीको बजार पुँजीकरण हो ।

यसमा संस्थापक र सर्वसाधारणको सेयर मूल्य समावेश हुन्छ । यद्यपि, नेपालमा संस्थापक भन्दा सर्वसाधारण समुहको सेयर मूल्य बढी भएपनि संस्थापकको सेयर मूल्यलाई पनि एउटै बास्केटमा हालिएको छ ।