मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

२०८३ असार ०२ गते

मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

काठमाडौं । नेपालमा यस वर्ष मनसुन आगमन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

Advertisement:

Ad
Ad

विभागका अनुसार सरदरमा जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्ने जनाएको हो।

 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार प्रशान्त महासागर क्षेत्रमा एलनिनो विकसित भइसकेको छ र यसको प्रभाव क्रमशः बलियो बन्दै गएको छ ।

 

एलनिनोका कारण दक्षिण एसियाली मनसुनी प्रणाली प्रभावित हुने तथा नेपालमा मनसुन कमजोर बन्न सक्ने सम्भावना देखिएको छ। यही कारणले मनसुन आगमनमा ढिलाइ हुन सक्ने विभागको निष्कर्ष छ ।

 

विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावका कारण मनसुन ढिलो प्रवेश गरेको विभागले जनाएको छ । सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा मनसुन सरदर मितिभन्दा ढिलो नेपाल प्रवेश गरेको थियो। ती वर्षहरूमा मनसुन जुन १४ देखि जुन २७ सम्मका विभिन्न मितिमा भित्रिएको तथ्यांक विभागसँग रहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने भएकाले नागरिकलाई आधिकारिक मौसम बुलेटिन र सूचनामा ध्यान दिन आग्रह गरेको छ।

 

मनसुन ढिलो भित्रिने सम्भावनासँगै कृषक, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने देखिएको छ। विभागले आगामी दिनमा मनसुनी गतिविधिबारे थप स्पष्ट जानकारी उपलब्ध गराउने जनाएको छ।