२०८३ भदौ २६ गते
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले होटल बुकिङ सेवा शुरु गरेको छ। आइएमई खल्ती लिमिटेडले खल्ती होटल्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याउँदै अब एउटै एपबाट होटल, आन्तरिक हवाई उडान र बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको हो।
खल्तीका अनुसार नयाँ सेवामार्फत नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटल एपबाटै खोजी गरी बुकिङ तथा भुक्तानी गर्न सकिनेछ। खल्ती होटल्स’ सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याइएको हो। बुकिङ प्रक्रिया स्वचालित रहेकाले भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल बुकिङ कन्फर्मेसन प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसअघि खल्तीबाट आन्तरिक हवाई तथा बस टिकट बुकिङ गर्दै आएका प्रयोगकर्ताले अब यात्राको गन्तव्यमा होटलसमेत एउटै एपबाट बुक गर्न सक्ने भएका छन्। यससँगै खल्तीले आफ्नो सेवालाई डिजिटल भुक्तानीमा मात्र सीमित नराखी सम्पूर्ण यात्रा व्यवस्थापन प्लेटफर्मका रूपमा विस्तार गर्ने प्रयास गरेको देखिन्छ।
२० जनालाई ५० प्रतिशतसम्म क्यासब्याक
नयाँ सेवा सुरु भएको अवसरमा खल्तीले सुरुवाती अफरसमेत सार्वजनिक गरेको छ। अफर अवधिभर होटल बुक गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट छनोट हुने २० जना भाग्यशाली विजेताले प्रतिबुकिङ अधिकतम १ हजार ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक पाउनेछन्। कम्पनीले नयाँ सेवालाई ‘यात्रा अझ सजिलो खल्तीमै’ भन्ने अभियानका साथ अघि बढाएको जनाएको छ।
‘एउटै एपमा सम्पूर्ण यात्रा’को लक्ष्य
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढिरहेको समयमा उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई सहज बनाउने बताए।उनका अनुसार ‘खल्ती होटल्स’ कम्पनीको ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो। त्यस्तै, स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईंले खल्तीसँगको साझेदारीले नेपालका होटल व्यवसायीलाई ठूलो संख्यामा डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच पुर्याउन सहयोग गर्ने बताए। उनले यस सेवाबाट यात्रुले भरपर्दो तथा प्रमाणित बासस्थान छनोट गर्न सक्ने बताए।
‘खल्ती होटल्स’ सेवा खल्ती एपको ट्राभल तथा इन्टरटेनमेन्ट खण्डमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। बुकिङसम्बन्धी समस्या वा जानकारीका लागि प्रयोगकर्ता तथा होटल व्यवसायी दुवैका लागि ग्राहक सहायता सेवा उपलब्ध हुने बताइएको छ।
प्रतिक्रिया