२०८३ साउन ०४ गते
काठमाडौं। बिहानको घाम इन्द्रचोकका साँघुरा गल्लीमा छिर्न थालेपछि पसलका सटरहरू बिस्तारै खुल्छन्। भीड बढ्दै जान्छ।
कसैले पूजा सामग्री किन्छ, कसैले साडी हेर्छ, कसैले चुरा छाम्छ। यही चहलपहलको बीचमा एउटा सानो टेबुलमा झुकेर वृद्ध हातहरू स–साना मोती एउटै धागोमा गाँसिरहेका हुन्छन्। ती हातका रेखाहरूमा आधा शताब्दीभन्दा लामो इतिहास कोरिएको छ। ती हात हुन् खालिद दिनका।
उनले आफ्नो जीवनको करिब पाँच दशकभन्दा बढी समय इन्द्रचोकमै पोते बनाउँदै बिताएका छन्। उनी आफूलाई यहाँका सबैभन्दा पुराना पोते व्यवसायीमध्ये एक मान्छन्। उनका लागि पोते केवल बिक्री हुने गहना होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, पहिचान र जीवनको आधार हो।
ूसायद म नै यो ठाउँमा पोते बनाउने पुरानो व्यक्ति हुँ। सामग्री बाहिरबाट आउँछ, हामी त्यसलाई आफ्नै हातले पोते, नौगेडी,छड्के ललगायतका गहना बनाएर तयार गर्छौं, खालिद भन्छन्। उनका हातले हजारौँ पोते बुने। ती पोते व्यवसायबाटै उनले आफ्ना सन्तान हुर्काए, पढाए र परिवार चलाए।
तर आज उनी विगत सम्झिँदा उनका अनुहारमा मुस्कानभन्दा बढी पीडाको छाँया देखिन्छ। पहिला यही पेसाबाट सबै पुग्थ्यो। बालबच्चा पढाइयो, घर चल्यो। अहिले भने बिहान–बेलुकाको खान पुग्ने मात्र छ, उनी भन्छन्।
खालिद दिनको परिवारमा पोते बनाउने परम्परा उनका बुबा र बाजेबाट सुरु भएको हो। अहिले त्यो सीप उनका छोरा जमुद्दिनसम्म आइपुगेको छ। ठमेलमा जन्मिएका जमुद्दिनले सन् २००१ देखि यही पेसा सम्हालिरहेका छन्। उनी अहिले परिवारको चौथो पुस्ताका व्यवसायी हुन्।
ूबुवा पनि यही काम गर्नुहुन्थ्यो, बाजे पनि यही पेसामा हुनुहुन्थ्यो। यो हाम्रो पुख्र्यौली व्यवसाय हो, उनी भन्छन्। परिवार पाल्ने आधार अझै यही पेसा भए पनि यसको भविष्यप्रति उनी आशावादी देखिँदैनन्। ूबाजेले गर्नुभयो, बुवाले गर्नुभयो, मैले गरेँ। अब मेरा छोरा–छोरीले गर्छन् कि गर्दैनन्, त्यो उनीहरुकै कुरा हो, उनी सुनाउँछन्।
साउन र तीजमा मात्रै जाग्छ पोते बजार
इन्द्रचोकको पोते व्यवसाय वर्षभरि समान रूपमा चल्दैन। साउन लागेपछि र तीज नजिकिँदै जाँदा मात्रै पसलमा ग्राहकको चहलपहल बढ्छ। विवाहित महिलाका लागि हरियो पोते र रातो चुराको धार्मिक तथा सांस्कृतिक महत्वले यो मौसममा व्यापार बढाउने गर्छ। तर त्यो उत्साह पनि पहिलेजस्तो छैन। पहिला साउन लाग्नासाथ ग्राहकको भीड हुन्थ्यो। अहिले त्यो अवस्था छैन, जमुद्दिन भन्छन्। पछिल्ला वर्षहरूमा बजारमा रेडिमेड पोते र माला सजिलै उपलब्ध हुन थालेका छन्। चीनलगायतका देशबाट आयात हुने सस्ता र आकर्षक डिजाइनका सामग्रीले परम्परागत हातले बनाइने पोतेलाई चुनौती दिएको छ। ग्राहक पनि अहिले तयार गहना रोज्न थालेका छन्।
अहिले रेडिमेड रातो–हरियो माला धेरै बिक्री हुन्छ। पहिले जस्तो हातले बनाएको पोते खोज्ने ग्राहक कम भएका छन्, जमुद्दिन बताउँछन्। सुनको मूल्य निरन्तर बढ्नुले पनि परम्परागत गहनाको व्यापारमा असर गरेको उनीहरूको अनुभव छ। इन्द्रचोकमा तयार हुने पोतेका स–साना मोती भने नेपालमै उत्पादन हुँदैनन्। जमुद्दिनका अनुसार ती सामग्री जापान, चेक रिपब्लिक र चीनबाट आयात हुन्छन्। सामग्री मगाउन ठूलो लगानी चाहिने भएकाले केही व्यापारी मिलेर सामूहिक रूपमा आयात गर्ने चलन छ।
एउटाले मात्रै बाहिरबाट मगाउन सक्दैन। चार–पाँच जना मिलेर मगाउँछन्। लागत र मूल्यबारे साहूहरूलाई मात्रै थाहा हुन्छ, उनी भन्छन्।नेपालमा आएपछि भने ती साना मोतीलाई नेपाली सीपले नयाँ जीवन दिन्छ।
मूल्यभन्दा ठूलो सीप
इन्द्रचोकमा तयार हुने पोतेको मूल्य डिजाइन र सामग्रीअनुसार फरक हुन्छ। सामान्य पोते ५०–६० रुपैयाँदेखि सुरु हुन्छ भने राम्रो डिजाइनका पोते १००, २०० वा ३०० रुपैयाँसम्म पुग्छन्। नौगेडीजस्ता परम्परागत गहना बनाउन चार–पाँच सय रुपैयाँसम्म लाग्ने खालिद बताउँछन्। तर उनीहरूका लागि मूल्यभन्दा ठूलो कुरा सीप हो। एउटा पोतेमा गाँसिएका सयौँ साना मोतीसँगै दशकौँको अभ्यास, धैर्य र अनुभव पनि गाँसिएको हुन्छ।
काठमाडौंको इन्द्रचोक केवल व्यापारिक केन्द्र मात्र होइन, परम्परागत सीप र हस्तकलाको जीवित संग्रहालय पनि हो। यहाँका गल्लीहरूमा अझै केही व्यवसाय छन्, जसले आधुनिक बजारसँग संघर्ष गर्दै आफ्नो अस्तित्व जोगाइरहेका छन्। पोते बनाउने व्यवसाय पनि त्यसमध्ये एक हो। तर बजारको बदलिँदो स्वाद, सस्तो आयातित सामग्री र नयाँ पुस्ताको घट्दो आकर्षणले यो पेसालाई क्रमशः किनारातिर धकेलिरहेको छ।
प्रतिक्रिया