२०८३ भदौ १७ गते
काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देश शोक र विपत्तिमा रहेका बेला आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको पहिलो दिन र १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यसपटक भदौ १६ गतेका लागि स्थगित गरेको हो ।
रसुवा र नुवाकोटसहितका क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको तथा विपत्तिको अवस्था रहेकाले कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार भदौ १६ गतेका लागि तय भएको प्रोत्साहन पुरस्कार कार्यक्रमको विजेता घोषणा अब भदौ महिनाभरिका विजेतासहित आगामी असोज १ गते गरिनेछ ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार नियमित रूपमा हुँदै आएको करदाता प्रोत्साहन कार्यक्रमलाई विपत्तिको अवस्थालाई ध्यानमा राख्दै एकपटकका लागि सारिएको हो ।
प्रतिक्रिया