२०८१ माघ १२ गते
काठमाडौँ। जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनिहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर गरे।
उनिहरुले भने, “जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुप¥यो । ” कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरुले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताए । उनले भने, हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ । ”
जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको बताए । उनले भने“ जिल्ला समन्वय समितिको भूमिका समन्वय र अनुगमन गर्न अहं हुन्छ तर व्यवहारमा यसो हुन सकिरहेको छैन । ”
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको जानकारी दिए।
“सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भने, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो । हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ । यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”उनले भने ।
प्रतिक्रिया