इप्पानमा मोहन डाँगीको नेतृत्व, अधिकांश पदाधिकारी सर्वसम्मत चयन

२०८३ जेठ ३० गते

इप्पानमा मोहन डाँगीको नेतृत्व, अधिकांश पदाधिकारी सर्वसम्मत चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा सहमति जुटेपछि पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।

 

Advertisement:

Ad
Ad

इप्पानको विधानअनुसार मोहनकुमार डाँगी अध्यक्षमा स्वतः चयन भएका छन् । नेतृत्व चयनअघि भएको सहमतिपछि उत्तम भ्लोन लामा वरिष्ठ उपाध्यक्ष बनेका छन् । उक्त पदका अर्का आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध चयन भएका हुन् ।

उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध चयन भएका छन् । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्ष पदमा पनि सहमति कायम भएको थियो ।

महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन् । महासचिव पदका प्रत्याशी प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध बनेका हुन् ।

सचिवमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन भएका छन् । साथै कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिव पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी मिथुन पौडेलले ८२ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी सर्वसम्मत चयन भएका छन् । सदस्य पदका उम्मेदवार इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सहमतिका आधारमा नेतृत्व चयन भएको हो ।

महिला सदस्यतर्फ सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भएका छन् । साथै प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई कार्यसमितिमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

इप्पानले संस्थाभित्र देखिएजस्तो कुनै गम्भीर विवाद नरहेको स्पष्ट पार्दै संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत सक्षम तथा समावेशी नेतृत्व चयन गरिएको जनाएको छ । नवगठित नेतृत्वले ऊर्जा क्षेत्रको विकास, निजी क्षेत्रको लगानी विस्तार तथा नीतिगत सुधारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।