२०८३ साउन १९ गते
काठमाडौं । सरकारले आगामी दशैं–तिहारको उच्च मागलाई ध्यानमा राख्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको छ। साथै, ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबीच समन्वयलाई तीव्रता दिने निर्णय पनि गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार बसेको बैठकले पछिल्लो समय देखिएको ग्यास आपूर्ति अवस्थाको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो।
छलफलका क्रममा ग्यास उद्योगी तथा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको वास्तविक अभाव नरहेको दाबी गरे। उनीहरूका अनुसार पश्चिम एशियाको द्वन्द्वपछि सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर वितरण व्यवस्था लागू गरेको थियो। अहिले पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले एकैपटक बढी ग्यास खरिद र भण्डारण गर्न थालेकाले बजारमा असहज अवस्था देखिएको हो।
व्यवसायीहरूले पहिलेभन्दा अहिले बढी मात्रामा ग्यास आयात भइरहेको भन्दै कृत्रिम अभावभन्दा पनि आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्तिले बजारमा दबाब सिर्जना गरेको धारणा राखे।
बैठकमा मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायसँग निरन्तर छलफललाई अघि बढाइने बताउँदै आपूर्ति व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, नेपाल आयल निगम तथा ग्यास उद्योगीहरूको छाता संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया