पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन गर्न नसकिएको मन्त्री रावलको प्रष्टिकरण

२०८३ साउन १९ गते

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन गर्न नसकिएको मन्त्री रावलको प्रष्टिकरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अधिकांश स्थानीय तहले आवश्यक सूचना सार्वजनिक नगर्दा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया प्रभावित भएको बताएकी छन्।

 

Advertisement:

Ad
Ad

मंगलबार प्रतिनिधिसभाको बैठकमा भूमिहीन सुकुम्वासीको समस्यासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावको जवाफ दिँदै मन्त्री रावलले सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भए पनि स्थानीय तहबाट सूचना प्रकाशनमा ढिलाइ हुँदा काम रोकिएको स्पष्ट पारिन्।

 

उनले भनिन्, 'सम्बन्धित पालिकामा सूचना पठाइसकेका छौं। तर चारवटा पालिकाबाहेक अधिकांश स्थानीय तहले वडास्तरमा सूचना प्रकाशित नगर्दा प्रक्रिया प्रभावित भएको छ।

 

रावलले सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहको सक्रिय सहभागिताविना प्रक्रिया अघि बढ्न नसक्ने बताइन्।'

 

काठमाडौंको हकमा होल्डिङ सेन्टरमार्फत ३८८ परिवारको लगत संकलन गरिएको जानकारी दिँदै उनले ५८ परिवारको निवेदन सम्बन्धित पालिकामा पठाइसकिएको, ५१ परिवारको निवेदन अस्वीकृत भएको र थप ५१ परिवारको निवेदन यसअघि नै आयोगमा दर्ता भइसकेकाले त्यससम्बन्धी सूचना बुधबार प्रकाशित हुने तयारी रहेको जानकारी दिइन्।

साथै, उनले विपक्षी दलहरूलाई समेत स्थानीय तहलाई प्रक्रिया अघि बढाउन दबाब दिन आग्रह गर्दै प्रस्तावको प्रतिलिपि सम्बन्धित पालिकामा पठाउन अनुरोध गरिन्। उनका अनुसार सरकारले आवश्यक सूचना जिल्ला र स्थानीय तहमा पठाइसकेको भए पनि स्थानीय तहले समयमै सार्वजनिक नगर्दा भूमिहीनको लगत प्रमाणीकरण तथा व्यवस्थापन प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।